समाचार

पहिरोले थुनियो चमेलिया नदी, भटारका १५ परिवारलाई सुरक्षित स्थानमा सारिँदै

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरोले चमेलिया नदी थुनिएको छ । लगातारको वर्षाले ल्याएको पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

नदीको बहाव रोकिँदा भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन् । पहिरोले गर्दा स्थानीयको खेतीयोग्य जमिन बगिसकेको छ र बजार पनि जोखिममा परेको छ । अहिले नदीले पहिरो कटाउन थालेपछि केही मात्रामा पानीको बहाव पुनः सुरु भएको छ। तर, वर्षा अझै जारी रहेकाले बहाव पुनः बढ्न सक्ने चेतावनी गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले दिएका छन् ।

खतरा बुझ्दै अपिहिमाल गाउँपालिकाले जोखिममा रहेका स्थानीय र तिनीहरूका पशुधनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम थालेको छ । बोहराका अनुसार वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी घटनास्थलमा पुगेका छन्, साथै थप क्षति हुन नदिन नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली पनि परिचालन गरिएको छ ।

अध्यक्ष बोहराले यस क्षेत्रमा तीन–चार वर्षअघि पनि पहिरो गएको जानकारी दिएका छन्, तर यसपटकको घटना विगतको भन्दा ठूलो भएको स्थानीयको भनाइ छ । वर्षा जारी रहेकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>