अस्कर अवार्ड प्रतिस्पर्धाका लागि नेपालबाट ‘तिनीहरू’ सिफारिस

२८ भदौ, काठमाडौं । नेपालबाट ‘अन्तर्राष्ट्रिय फिचर’ विधाका लागि २०२७ मा ९९औँ अस्कर अवार्ड्स प्रतिस्पर्धामा सहभागी हुने चलचित्रको रूपमा ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’लाई चयन गरिएको छ ।
आइतबार, अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) का अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा यो जानकारी दिइएको हो । नेपालबाट दुई कथानक चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए ।
समितिले दुवै चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राख्दै गहन अध्ययन गरी एकेडेमीको मापदण्डअनुसार मूल्यांकन गर्दा ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’लाई आधिकारिक प्रतिस्पर्धीको रूपमा अस्करमा सिफारिस गरेको जनाएको छ ।
छनोट समितिमा अध्यक्ष शर्मासहित सदस्यहरू लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन पराजुली र विकास सुवेदी रहेका छन् ।




