ग्यासको मूल्य घट्यो काठमाडौँ उपत्यकामा

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । पृथ्वी राजमार्गमा यातायात पुनः सुचारु भएपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको मूल्य पुनः प्रतिसिलिन्डर २,०६० रुपैयाँमा वितरण गर्न निर्देशन दिएको छ । घटेको मूल्य असोज २ गते शुक्रबारदेखि लागू हुनेछ ।
भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीले राजमार्गका केही भाग क्षतिग्रस्त भएपछि सडक पूर्ण रुपमा बन्द भएको थियो । मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यास उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका गोदामहरूद्वारा सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गबाट उपत्यकामा आपूर्ति गरेका थिए । वैकल्पिक मार्ग प्रयोग गर्दा लागत बढेकाले सङ्घले भदौ १८ गते प्रेस विज्ञप्ति मार्फत नेपाल आयल निगमले तोकेको मूल्यमा १०५ रुपैयाँ ३८ पैसा थपेर प्रतिसिलिन्डर २,१६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न निर्देशन दिएको थियो ।
तर, अहिले अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खुलाई यातायात सुचारु भएकाले एलपी ग्यासका बुलेटहरू सामान्य रुपमा काठमाडौँ आउन थालेका छन् । वैकल्पिक मार्गको बाध्यता हटेसँगै सङ्घले थपिएको ढुवानी भाडा हटाउने निर्णय गरेको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दको परिपत्रमा, काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने सम्पूर्ण उद्योगीहरूलाई निगमले तोकेको मूल्य रु.२,०६० भन्दा बढी नबढाई बिक्री गर्न र आफ्ना विक्रेताहरूलाई पनि सो निर्देशन अनुसार चल्न आग्रह गरिएको छ ।




