समाचार

माफ नेपालले स्वास्थ्य मन्त्रीलाई बुझायो ३ बुँदे ज्ञापन पत्र

काठमाडौ। मिडिया एड्भोकेसी फोरम नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई ज्ञापन पत्र बुझाएका छन्। मिडिया एड्भोकेसी फोरम नेपालका महासचिव निरोज तोलाङेको नेतृत्वमा गएको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडालाई स्वास्थ्य मन्त्रालयमा नै भेट गरी ज्ञापन पत्र बुझाएका हुन्।

उनिहरुले सबै नेपाली नागरिकहरूका निम्ति सम्पूर्ण रूपमा निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइनुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा सबै प्रकारका जाँच उपचारको सुविधासम्पन्न अस्पताल निर्माण गरिइनुपर्ने र सबै नागरिकको निम्ति अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरिनुपर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराउँदै ३ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको मिडिया एड्भोकेसी फोरम नेपालका महासचिव निरोज तोलाङेले जानकारी दिए। ‘अहिले पनि स्वास्थ्य सेवा सबैलाई सहज र सुलभ छैन यसमा हामीले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गरायौं,’ महासचिव तोलाङेले भने, ‘आम नागरिकको समान पहुँच स्थापित गरी सबै नेपाली नागरिकलाई स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने उनले बताए।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्र निकै संबेदनसिल भएकोले सबै नेपाली नागरिकको समान पहुँच निर्माण गर्न आफू निरन्तर लागीपरेको बताउनु भयो। टोलीले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री माननीय भवानी प्रसाद खापुङ, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेशका प्रबक्ता युवा नेता टिकाराम नेपाली, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार वरिष्ठ पत्रकार शन्तराम बिडारीसंग पनि सौहार्दपुर्ण भेटघाट गरेको छ।

माफ नेपालले बुझाएको ज्ञापन पत्रको पुरापाठः

“माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाण्डौँ, नेपाल

विषय : ज्ञापन पत्र सम्बन्धमा

मिडिया एड्भोकेसी फोरम नेपालले नागरिकको सामाजिक सरोकारका मुद्धाप्रति विशेषगरी, सीमान्तकृत, उत्पीडित, उपेक्षित वर्ग, राष्ट्रिय स्वाधीनता, नागरिक अधिकार, जनजीविकाका सवालहरु, धर्म तथा आस्थाको स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लागि पत्रकारितामार्फत नागरिकलाई सचेत र जागरुक गराउने पैरवी, बहस गर्ने पैरवी पत्रकारिताको पक्षमा कलम चलाउने आम सञ्चारमा आवद्ध पत्रकारहरूको एक स्वतन्त्र र विशुद्ध साझा मञ्च भएको जानकारी गराउँन चाहान्छौँ।

नेपाल नागरिकका आधारभूत आवश्यकता तथा अधिकारअन्तर्गत पर्ने स्वास्थ्य उपचारको अधिकार अझै पनि अर्थपूर्ण रूपमा सबैको पहुँचमा पुग्न सकेको छैन। बरू विभिन्न पेशागत समुदायको निम्ति भन्दै अस्पतालहरू स्थापना र सञ्चालन गर्ने होडबाजी चलेको देखिन्छ। यस्तो प्रवृत्तिले नागरिकबिचमै विभेद र जीवनको महत्व नै कमबेसी पो हो कि भन्ने सोच निर्माण गर्नेछ । लोकतन्त्रको मर्म राज्यको नजरमा सबैको जीवन र स्वास्थ्य बराबर हो, यसमा पहुँच र प्रभावको भरमा कुनै खास खास वर्ग, पेशा वा क्षेत्रियताका नागरिकहरूका लागि अस्पताल निर्माण गरिने, तर त्यसरी गोलबन्द भएर दबाव र प्रभाव पार्न नसक्ने समुदायहरूको बेवास्ता गरिन सकिने भन्ने हुँदैन। यसको सट्टा सबैको समान र उचित पहुँचसहितको स्वास्थ्य सेवा देशैभरि प्रदान गरिनु नै दीर्घकालमा प्रभावकारी र मितव्ययी सिद्ध हुनेछ।

तसर्थ स्वास्थ्यमा आम नागरिकको समान पहुँच स्थापित गरी सबै नेपाली नागरिकलाई स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने माग गर्दै माननीय स्वास्थ्य मन्त्री श्री विरोध खतिवडा ज्युमार्फत राज्यको ध्यानाकर्षण गराउँदछौं =।

मागका बुँदाहरूः
(१) सबै नेपाली नागरिकहरूका निम्ति सम्पूर्ण रूपमा निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइयोस्।
(२) प्रत्येक प्रदेशमा कम्तीमा एउटा सबै प्रकारका जाँच उपचारको सुविधासम्पन्न अस्पताल निर्माण गरियोस्।
(३) सबै नागरिकको निम्ति अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरियोस्।

धन्यवाद।

अध्यक्ष, विदुर अधिकारी महासचिव, निरोज तोलाङे
मिडिया एड्भोकेसी फोरम (माफ) नेपाल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>