कोरोनासङ्गै बाढी पहिरोको त्रासमा छाप डाडाबासीहरु

३० साउन, नौकुन्ड रसुवा, सिन्धु तामाङ्ग
रसुवाको भोर्लेनी- सरमथली सडकको लार्च्याङ- छापडाडा खण्ड मनसुन शुरु भएदेखि नै हुन थालेको भारी बर्षाको कारण पूर्ण रुपमा अवरुद्ध भएकोले कुनै पनि सवारी साधन चल्न नसक्दा त्यहाका बासिन्दाहरुको दैनिक जीवन कष्टकर भइरहेको छ।
जिल्लाको दक्षिण – पूर्वी भेकको नौकुण्ड गाउँपालिकामा पर्ने लार्च्याङ्ग- छापडाडा सडकखण्ड यसपालीको बर्षामा पनि सवारी साधन चल्नै नसक्ने गरी अवरुद्ध भएको छ। नुवाकोटको त्रिशुलीबाट भोर्लेनी – सरमथली हुदै लाङटाङ जाने एउटा ट्रेकिङ्ग रुटको रुपमा समेत प्रयोग गरिने यो सडकखण्डको दुर्दशा पहिलेका बर्षाहरुमा झै यसपालीको बर्षामा पनि दोहोरिएको छ। कतै सडक नै भत्किएर त कतै माथिबाट खसेको पहिरोले पुरिएर जता ततै सडक बिग्रीएको अवस्थामा छ। ब्यवस्थित रुपमा पानी निकासको नाली र रिटेनिङ्ग वाल नहुनु नै सडक भत्किनुको मुख्य कारण रहेको स्थानीय बासीहरुको भनाई छ।

सडकको यस्तो दुरावस्थामा समेत स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान पुगेको देखिदैन । बर्षा याम केहि समय बाकी नै रहेकोले बाढी पहिरोको जोखिम अझै टरेको छैन । यसकारण सडक खण्ड अझै धेरै ठाउहरुमा भत्किन र पुरिन सक्ने सहजै अनुमान गर्न सकिन्छ। यो सडक मर्मतमा सम्बन्धित निकायहरुको समयमा नै ध्यान नजाने हो भने अरु बढी क्षति हुन सक्ने देखिन्छ । साथै सडक पुन: सवारी चलाउन साकिने अवस्थामा ल्याउन निक्कै खर्चालु पनि हुनेछ।
यसरी करीब ३/४ महिना देखि यो सडक बिग्रिएर दुई पाङ्ग्रे सवारी साधन समेत चल्न सकेको छैन। यस्तो अवस्थामा छापडाडाका बासिन्दाहरु खाद्यान्न लगायत दैनिक उपभोगका सामानहरुको भारी बोकेर ३/४ घण्टाको बाटो उकालो ओरालो गर्न बाध्य छन। लगातारको बर्षाले गर्दा पैदल सडक समेत भत्किएकोले हिड्दा हिड्दै बाढी र पहिरोको दुर्घटनामा परिन्छ कि भन्ने त्रास पनि उनीहरुमा उत्तिकै छ। यति मात्र होइन रातमा पर्ने पानीले कतै गाउ नै बगाउने हो कि भन्ने डर पनि गाउबासीहरुमा फैलिएको छ।

विश्वभरीका मानिसहरु जस्तै छापडाडाका बादिन्दाहरु पनि कोरोना महामारीको त्रासमा त छदैछन।यसमाथि पनि बाढी पहिरोको थप पिडा उनीहरुमा परेको छ। समयमा नै सम्बन्धित निकायहरुको ध्यान पुग्नेछ र सडक चाडै मर्मत भैइ दैनिक जीवन सहज हुनेछ भन्ने आशा उनीहरुले हरेक बिहान सुर्योदय सङ्गै ओछ्याइरहेका छन।



