फेरि ‘खुवालुङ’ फुटाउने योजना बजेटमा राखियो

१६ जेठ, काठमाडौं । सरकारले जेठ १५ को बजेटमा भाषा परिवर्तनको सहायता लिँदै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ ।
‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८/७९ को बजेटले खुवालुङ फुटाउने घोषणा गरेको हो ।अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ फुटाउने निर्णयबाट पछि हटेको थियो । तर तीन महिना नबित्दै बजेट भाषणलाई खुवालुङ फुटाउने तीर बनाएको अभियन्ताहरूले बताए । ‘सप्तकोशीका अवरोध हटाउने भनेको खुवालुङ फुटाउने नै हो’, अभियन्ता राजन मुकारुङले बजेटलाई खुवालुङ अतिक्रमण गर्ने अस्त्रको संज्ञा दिँदै भने । मुकारुङ खुवालुङ फुटाउने जेठ १५ को घोषणालाई सांस्कृतिक पहिचानमाथिकै प्रहार मान्छन् ।
‘हिजो भाषणमा खुवालुङ फुटाउने बताएका प्रधानमन्त्रीले आज नीतिगत रुपमै यो लागू गर्न खोजेका छन् । जुन नीतिको हामी कडा प्रतिवाद गर्छौं’, अनलाइनखबरसँग कुरा गर्दै मुकारुङले भने । ‘खुवालुङ क्षेत्र संरक्षण समिति’का सदस्य रामचन्द्र राई पनि बजेटमा खुवालुङ फुटाउने घोषणालाई सांस्कृतिक दमनको उत्कर्ष मान्छन् । ‘कहिले खुवालुङ संरक्षण गर्ने त कहिले फुटाउने भन्दै सरकारले आदिवासी संस्कृतिको उपहास गरेको’ राई बताउँछन् । उनी भन्छन्, ‘खुवालुङ तथा अन्य सांस्कृतिक अतिक्रमण गर्ने सम्पूर्ण कदमको हामी विरोध गर्छौं ।’ यसैबीच जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आइतबार एक वक्तव्य जारी गर्दै खुवालुङ फुटाउने तथा सुकेटार विमानस्थलको नाम परिवर्तनजस्ता बजेटको घोषणालाई साँस्कृतिक दमन मान्दै भर्त्सना गरेको छ ।
समाजवादी पार्टीका लिम्बुवान अध्यक्ष खगेन्द्र माखिम र मुख्यसचिव केदार धिमालले विज्ञप्ति जारी गर्दै खुवालुङ फुटाउने योजनालाई सरकारको नश्लवादी कदम भनेका छन् । चैत्र पहिलो साता मुख्यमन्त्री शेरधन राई आफैं गएर खुवालुङलाई सांस्कृतिक पर्यटनस्थल बनाउने उद्घोष गरेका थिए । मुख्यमन्त्री राईले काठमाडौंमा किरात संस्कृतिविद तथा अभियन्ताहरूसँग छलफल गरी खुवालुङ किरात संस्कृतिको आस्था भएकाले प्रदेश सरकारले यसको संरक्षण गर्ने बताए पनि केन्द्र सरकारले बजेट भाषणमा खुवालुङ फुटाउने संकेत गरेको छ ।




