शिक्षा

उच्च शिक्षामा शैक्षिक सुधार कार्यक्रम

काठमाडौं, जेठ ३० । आगामी आर्थिक वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षामा समेत सञ्चालन हुने भएको छ ।

विद्यालय तहमा रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई उच्च शिक्षामा नयाँ आर्थिक वर्षदेखि विस्तार गरिएको हो । चालू आर्थिक वर्षदेखि विद्यालय तहमा कार्यान्वयनमा ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम उच्च शिक्षा अध्यापन गराउने क्याम्पसमा समेत लागू गरिने भएको हो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले आगामी आर्थिक वर्षदेखि सरकारले क्याम्पसमा समेत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याउने निर्णय गरेको जानकारी दिए। खासगरी आयोगमार्फत मुलुकभरका सामुदायिक क्याम्पसलाई दिइने अनुदानलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको छातामुनि समावेश गर्ने योजना बनाइएको छ ।

सो कार्यक्रमका लागि ६० करोड रुपियाँ विनियोजन भएको छ । शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा यो कार्यक्रम केन्द्रित गर्ने सरकारको तयारी छ । यो कार्यक्रम कार्यान्वयनबाट शैक्षिक पूर्वाधार निर्माणमा परिवर्तन भई दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ । यस अतिरिक्त आयोगले क्याम्पसहरूलाई आवश्यकताका आधारमा फर्निचर, उपकरण खरिद र पुस्तकालयमा समेत बजेट उपलब्ध गराउन सक्नेछ । आयोगका अनुसार हरेक तीन वर्षको फरकमा क्याम्पसले यस खालको बजेट प्राप्त गर्न सक्छन् । भौतिक संरचना र अन्य एक गरी दुईवटा शीर्षकमा क्याम्पसले बजेट दाबी गर्न सक्ने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>