प्रवास

डेनमार्कमा पहिलो नेपाली महिला बस चालक सपना

१६ भदौ, कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो ।

फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्। सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा उनले आफूलाई उभ्याउन सफल भएकी हुन्। डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन। सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसपछि मात्र ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ।

डेनिस भाषा सिकी, भाषा परीक्षा पनि उत्तीर्ण भैसकेपछि बस चालक अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सडकहरुमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ। यी सबै खुड्किला पार गर्दै सपना डेनमार्कको नेपाली समुदायमा पहिलो नेपाली महिला बस चालक बन्न सफल भइन्। डेनमार्क आएपछि अरू सामान्य कामहरू गर्दै गर्दा अलि दक्षता भएको काम गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले बताइन् । ‘डेनमार्क आएको दुई वर्ष पुग्दा मलाई अलि स्थिर तथा दक्ष काम गर्नुपर्छ भन्ने लागेको थियो। त्यसैले यहाँको भाषा सिक्न स्थानीय भाषा स्कुलमा भर्ना भए। भाषाको योग्यता पुगेपछि बस चालक बन्ने रहर जागेको थिय,’ सपनाले आफूले देखेको सपना सुनाइन्।

डेनमार्कमा आफ्नो परिवार श्रीमान्, एक छोरी र एक छोरासँगै बस्दै आएकी खड्काको सफलतामा आफ्नो परिवारको ठूलो योगदान रहेको उनले बताइन् । श्रीमान् मोहन खड्काले आफ्नो लागि धेरै सहयोग र अगाडि बढ्न प्रेरित गरेको उनको भनाइ छ । सपनाको सफलतामा श्रीमान मोहन खुशी मात्र हैन दंग पनि छन्। ‘आधारभूत भाषा परीक्षा उत्तीर्ण मात्र हुन सकियो भने दक्ष काम पाउन अति सजिलो हुन्छ। त्यसैले मैले उनलाई सधैं भाषा सिक्न प्रेरेणा दिइरहे,’ उनले भने। श्रीमानको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको सपनाले बताउँछिन्। ‘विदेशको ठाउँ साना बच्चाहरू छन्। फेरि मिलेर काम गर्नुपर्ने। बच्चाहरुलाई यथेष्ट समय पनि दिनुपर्ने, यो अवस्थामा मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो। त्यसैले म आज सफल भएँ,’ उनले भनिन्।

डेनमार्कका रहेका नेपाली महिलाहरुलाई यहाँको भाषा सिक्नमा जोडदिनुपर्ने सपनाको सुझाव छ। ‘पहिला यहाँको स्थानीय भाषामा जोड दिनुहोस्। त्यसपछि आफूले चाहेको हरेक क्षेत्रमा कोर्स गर्न जान पाइन्छ । नेपाली महिलाहरूले आफूलाई कमजोर ठान्नु हुँदैन।भाषा भएमामा हरेक क्षेत्रमा बोल्न डराउनु पनि पर्दैन,’ सपनाले बताइन् । डेनमार्क आएको छोटो अवधिमा यहाँको स्थानीय डेनिस भाषा सिकेर, दक्ष जनशक्तिको लागि चाहिने अध्ययन गरी कडा परीक्षामा उत्तीर्ण हुनु बागलुङकी सपना खड्काको लागि एक ‘सपना’ नै थियो । तर आज पूरा भएको छ । उनको लगाब तथा मेहनत प्रवासमा रहेका सबै नेपालीहरुका लागि प्रेरेणा बनेको छ। अनलाइनखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>