अर्थ खबर

खाने तेलको मूल्य रुस र युक्रेन बीचको तनावले बढ्यो

रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ। स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाविन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो। अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन्।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताए। उनले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सनफ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्राँ बिक्री गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताए। यस्तै, सोयाविन तेल प्रतिलिटर २ सय ३० मा विक्रि गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको बताए। उनले मूल्य बढेपनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गरे। उनले रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवृद्धि भइसकेको समेत बताए।

संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले हाल खाने तेल लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडी बढाउन आवश्यक रहेको पनि औंल्याएका छन्। उनले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धित निकायसँग तत्काल छलफल अगाडि नबढाए मूल्य थप चुलिँदै जाने बताए। रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ। नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ। यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>