राष्ट्रपतिद्वारा स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृत

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय तह निर्वाचन सुरक्षामा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। २०७८ वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृतिका लागि गत शुक्रबार (चैत २४) मा राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए। निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई खटाउने गरी ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८’ पारित गरी अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाएको थियो। सोही अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मकरुपमा परिचालनको खाका बनेको छ।
सुरक्षा समिति बैठकको निर्णयपछि राष्ट्रिय सुरक्षा परिषद् बैठकले चैत १७ मा सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। सोही निर्णयपछि चैत २४ को मन्त्रिपरिषद्बाट अनुमोदन गराएर निर्वाचन सुरक्षा प्रयोजनका लागि सेना परिचालन स्वीकृतिका लागि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेका थिए। राष्ट्रपति भण्डारीबाट सेना परिचालन गर्न स्वीकृति दिएसँगै ७ सय ५३ स्थानीय तहमै निर्वानच सुरक्षाका लागि सेना खटाउने बाटो खुलेको छ।
निर्वाचनमा १ लाख म्यादीसहित चारवटै सुरक्षा निकायबाट कार्यरत जनशक्तिमध्ये ८० प्रतिशतभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा केन्द्रित गर्ने सरकारको कार्ययोजनामा उल्लेख छ।




