काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याए कल सेन्टर

२३ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ।
महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ। काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै महानगरका मेयर बालेन्द्र साह(बालेन)ले जनताले प्रश्न सोध्न पाउनुपर्ने तर्क गरे। उनले महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि कलसेन्टर ल्याएको बताए।
महानगरले निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ। महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ। कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएका उनले बताए।
काठमाडौं महानगरका अनुसार गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन्। त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ। यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ। इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्वीर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने, परामर्शदाता नवराज गुरुङले बताए।
सूचना प्रविधि विभागका प्रमुख ढकालका अनुसार अहिले यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ। तर गुनासो वा सोधपुछकर्ताले फोन गरेर ५ अंङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ। यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गर्नेछन्।




