राष्ट्रियसमाचारस्थानीय

चिडियाखानाको उद्धार र व्यवस्थापनमा जोड, ११४ प्रजातिका जीवजन्तु

राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा हाल ११४ प्रजातिका जीवजन्तु राखिएको जनाएको छ। करिब छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखाना सञ्चालनको जिम्मा २०५२ पुस १४ गतेदेखि कोषले पाएको थियो।

२७ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा चिडियाखानाले वन्यजन्तुको उद्दार र व्यवस्थापनमा जोड दिँदै आएको जानकारी दिइयो। जसअनुसार चिडियाखानाले हालसम्म ४ हजार ५३४ वन्यजन्तुको उद्दार गरी व्यवस्थापन गरेको छ। यो वर्षमात्रै ६८२ वन्यजन्तुको उद्दार गरिएको कोषले जनाएको छ। यसवर्ष चिडियाखानाले चिम्पान्जीको आधुनिक खोर निर्माण गरी चिम्पान्जी प्रदर्शनीमा राखेको छ भने डिजिटल टिकट काट्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ। चिडियाखानाले जीवजन्तुको स्वास्थ्यलाई मध्यनजर गरी प्राकृतिक वासस्थान र आहारको व्यवस्थापन गर्नुका साथै जिवजन्तुसँग सम्बन्धित अध्ययन, अनुसन्धान र चेतनामूलक संरक्षण शिक्षामा जोड दिँदै आएको छ। यसका लागि पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गरी जीवजन्तुको उचित वासस्थान र दर्शकहरुको सुविधाका लागि भौतिक पूर्वाधार निर्माण जस्ता कार्यहरु समेत हुँदै आएको कोषले जनाएको छ।

यसै चिडियाखानाले विभिन्न जनचेतनामूलक कार्यहरु पनि गर्दै आएको छ। जसअनुसार ‘फ्राइड्स अफ जू’ कार्यक्रमअन्तरगत करिब ५०० विद्यालयका १ लाख विद्यार्थी सदस्य रहेका छन्। ती सदस्यहरुले शारिरीक र मानसिक विकासका साथै चेतनामूलक संरक्षण शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छन्। यसैबीच २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर विद्यालय अभिनयात्मक कविता वाचन प्रतियोगिताको साथै सदर चिडियाखानाका कर्मचारीहरुबीच मैत्रीपूर्ण खेल आयोजना गरेको गरिएको छ।कार्यक्रममा ललितपुुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कविता वाचन प्रतियोगितामा भाग लिने सबैलाई बधाई दिँदै विजयीहरुलाई पुरस्कार वितरण गरे। प्रतियोगितामा जेसिस इन्टरनेस्नल स्कुल ‘हामी सँगसँगै हाम्रो वातावरण’ शीर्षकको कविताका साथ प्रथम भएको छ।

सो क्रममा महर्जनले चिडियाखानाको सन्दर्भमा आफूले यसअघि नै दुई वटा बचन दिइसकेको भन्दै अरु आश्वासन नदिने बताए। ‘एडप्ट एन एनिमल’ अन्तर्गत सबैभन्दा महँगो बेगांल टाइगर महानगरको तर्फबाट पाल्ने पुरानो प्रतिबद्धता पुरा गर्ने उनको भनाइ छ। यस्तै ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई महानगरपालिकाले चिडियाखाना घुम्नका लागि सटल बसको व्यवस्था गर्ने बताए। कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाका अध्यक्ष कृष्णप्रसाद ओलीले चिडियाखाना छिर्ने बाटोमा रहेको पसलहरुलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>