समाचार

चितवन रोटरी क्लबको पहल: २० हजार वाटको सोलारले सजिलो भए, खानेपानी र सिँचाइ

काठमाडौँ । नुवाकोटमा चितवन रोटरी क्लबको बाढीपीडित राहत कार्यक्रम तहत नुवाकोटको विदुर नगरपालिका–८ र ९ स्थित शुनाखेती लिफ्ट खानेपानी तथा सिँचाइ योजनामा २० हजार वाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालन गरिएको छ ।

विद्युत् अभावका कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको पम्पिङ प्रणालीमा सोलार जडान भएपछि स्थानीय क्षेत्रमा खानेपानी तथा सिँचाइ सेवा नियमित र सुविधाजनक भएको छ । क्लबले निर्माण गरेपछि यो सोलार प्रणाली उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । चितवन रोटरी क्लबको प्राविधिक सहायता र अस्ट्रेलियामा रहेका मानबहादुर तामाङको आर्थिक सहयोगमा उक्त सोलार प्रणाली निर्माण गरिएको हो ।

यो योजनाले करिब ३०० परिवार, त्रिशूली प्रादेशिक अस्पताल, तीनवटा सामुदायिक विद्यालय र पाँचवटा होल्डिङ सेन्टरलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्ने अपेक्षा गरिएको छ । सोलार प्रणालीको सञ्चालनले विद्युत् अभावका कारण प्रभावित क्षेत्रमा खानेपानी र सिँचाइ सेवामा महत्वपूर्ण सुधार आउने आशा गरिएको छ ।

कार्यक्रममा चितवन रोटरी क्लबका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले सोलार प्रणाली उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति थियो, जसमा निर्वाचित अध्यक्ष राजन पिया, निवर्तमान अध्यक्ष रामचन्द्र अधिकारी लगायत थिए । सोही अवसरमा, बाढीका क्रममा १ हजार ६ सय ४३ विद्यार्थीलाई सुरक्षित राख्न योगदान पु¥याएका त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको थियो ।

चितवन रोटरी क्लबका पूर्व अध्यक्ष भानु शर्माले क्लबको यस पहलले त्रिशूली क्षेत्रका समुदायमा नयाँ उत्साह र आशा जगाएको बताए । उनका अनुसार सोलार प्रणालीको जडानले स्थानीयवासीलाई खानेपानी र सिँचाइ समस्याको समाधान प्रदान गरेको महसुस भइरहेको छ । साथै, स्थानीय समुदायले अन्य पूर्वाधार तथा सामाजिक सेवामा पनि सहयोग गर्न क्लबलाई आग्रह गरेका छन् ।

पूर्व अध्यक्ष भानु शर्माले स्थानीय आवश्यकताहरूलाई ध्यानमा राख्दै क्लबले आगामी दिनमा थप कार्यक्रमहरूको योजना बनाइरहेको जानकारी दिए । उनले भने कि चितवन रोटरी क्लबका सदस्यहरूले स्थलगत अनुगमन गर्दै स्थानीयवासीसँग संवाद गरेर नयाँ संभावनाहरूको पहिचान गर्न थालेका छन् । यस पहलले प्रभावित समुदायमा तुरुन्त राहत मात्र होइन, लामो समयसम्मका लागि आवश्यक पूर्वाधार निर्माण र पुनःस्थापनामा सहयोग गर्ने उद्देश्य राखेको छ । यसले खानेपानी, सिँचाइ, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

चितवन रोटरी क्लबले भविष्यमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै आवश्यकता पहिचान, स्थलगत अनुगमन र सहभागिताका आधारमा दिगो तथा प्रभावकारी सामाजिक सेवा परियोजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>