नेपाललाई विश्व बैंकले दियो १२ अर्ब ऋण

१० असार, काठमाडौं । विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।यसअघि विश्व बैंकले गत २१ जेठमा कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्युत क्षेत्रको सुधारका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको थियो । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो । खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गरेको छ । विद्यूत क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।
प्राधिकरणको पुनर्संरचना गरी संघीयता अनुसार बलियो संस्थामा रुपान्तरण गर्न र त्यहाबाट विद्यूत क्षेत्रको अधिकतम सम्भावनाको खोजी गर्ने समेत बैंकले उल्लेख गरेको छ । नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा सचिव ढुंगानाले विश्व बैंकलाई धन्यवाद दिए। विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदद जर्भोसले संकटअघि र पछिसमेत निरन्तर लाभ प्राप्त गर्न विद्युत क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यसले लगानीका प्राथमिकता निश्चित गर्न समेत सहयोग पुग्ने बताए । भरपर्दो, किफायती र दिगो विद्यूतीकरणसम्बन्धी नेपाल सरकारको प्रतिवद्धतालाई विश्व बैंकले सहयोग गरेको उनले बताए । यो नेपालको गरिबी निवारण र समृिद्धतर्फको यात्रामा समेत सहयोगी हुने उनको विश्वास छ ।
पछिल्ला दिनमा नेपालले विद्युत उत्पादन र गुणस्तर सुधारमा ठूलो फड्को मारेको छ । नेपालको ८८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत सेवा पुगिसकेको छ । प्राधिकरणको प्रभावकारी व्यवस्थापन र सरकारको साथले पछिल्लो समय प्राधिकरणको घाटासमेत परिपूर्ति हुने नेपालको विद्युत क्षेत्रको ठूलो फड्को भएको विश्व बैंकले उल्लेख गरेको छ ।




