मनाेरञ्जन
स्वेता खड्काले कसिन् लगनगाँठो

काठमाडौं । नायिका स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् ।
सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् ।
स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।




