अनमोललाई लिएर ‘पारस’ बनाउँदै छु, निर्देशक म पनि हुनसक्छु : भुवन केसी

काठमाडौं। भुवन केसीको सुपर काजल फिल्म्सले ‘पारस’ शीर्षकमा नयाँ फिल्म निर्माण गर्ने भएको छ। मंगलबार कुरा गर्दै भुवनले ‘पारस’ प्रोजेक्टलाई अघि बढाउने र भदौदेखि छायांकन सुरु हुने बताए। ‘पारस’ बन्ने भएपछि सुपर काजल फिल्म्सले निर्माण गर्ने भनेको अर्को फिल्म ‘माइतीघर २’ तत्काल नबन्ने भएको छ।
‘अहिलेको परिस्थिति हेर्दा कमर्सियल फिल्ममै जानुपर्ने भएकाले पारस निर्माणको निर्णय भएको छ,’ भुवनले भने, ‘निर्देशक र कलाकार चाँडै फाइनल हुनेछन्। ’फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी हुनेछन् भने नायिकाको खोजी भइरहेको भुवनले बताए। यसअघि नायिका पनि लिइएको र उनलाई वर्कसपमा अभिनय सिकाइएको चर्चा थियो। ‘पारस’लाई यसअघि सिमोस सुनुवारले निर्देशन गर्ने चर्चा थियो, तर भुवनले निर्देशक फाइनल नभएको बताए। भुवन स्वयंले पनि निर्देशन गर्ने सम्भावना छ। ‘म पनि हुनसक्छु र अर्को केही पनि हुनसक्छ,’ उनले भने।
एक्सन लभस्टोरी कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा अनमोलले मुख्य पात्र ‘पारस’कै भूमिकामा अभिनय गर्दैछन्।