समाचार

युवावर्गमा शिक्षा, सिप र संस्कारको विकास हुनुपर्छः वडाअध्यक्ष खड्का

ललितपुर। ललितपुर म.न.पा. वडा नं. १८ का वडाध्यक्ष दामोदर खड्काले युवावर्गका शिक्षा, सिप र संस्कारको विकास हुनुपर्ने बताउनुभएको छ। जोखिममा परेका किशोर किशोरी र युवाको सर्वाङिण विकासका लागि निरन्तर काम गर्दै आएको अराइज एण्ड साइन नेपालले आइतबार ललितपुरको भैसेपाटीस्थित युथ सेन्टरमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा उहाँले सबै युवा समूहलाई लक्षित गरी यसो भन्नुभएको हो।

मानिसको जीवनमा युवावस्था एकपटक मात्र आउँछ, त्यसलाई सदुपयोग गर्ने मानिस नै जीवनमा सफल हुन्छन्। तसर्थ युवावर्गमा शिक्षा, सिप र संस्कारको विकास भएमात्र परिवार, समाज र राष्ट्रमा नवीन परिवर्तन आउने हुँदा सबै युवावस्थाका मानिसले आफ्नो भविष्यबारे सोचेर त्यसको आधार अहिल्यै बनाउनुपर्ने वडा अध्यक्ष खड्काको भनाइ छ। युवाको सर्वाङिण विकासका लागि आगामी दिनमा अराइज एण्ड साइनसँग समन्वय र सहकार्य गरिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले जोखिममा परेका किशोर किशोरी र युवाको सर्वाङिण विकासका लागि शिक्षा, सीप र संस्कारको विकास गर्ने क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा संस्थाको प्रशंसा गर्नुभएको छ।

संस्थाका कार्यकारी निर्देशक जोशुवा लिम्बुले स्वागत मन्तव्यसहित विषयवस्तुमाथि प्रकाश, कार्यक्रमको औचीत्य र जानकारीबारे प्रस्ट पार्नुहुँदै युवाहरुलाई रचनात्मक तथा सकरात्मक रुपमा संलग्न र सशक्त बनाउन युवाहरुमा सकरात्मक सोचको विकास तथा व्यवहारमा परिवर्तन, आत्मविश्वास र सीपको विकास, नेतृत्व तथा सीप दक्षताको विकास र रोजगारीका लागि सक्षम बनाउन संस्थाले निरन्तर काम गरिरहेको बताउनुभएको छ। कार्यक्रमको सामाजिक परीक्षणको प्रस्तुती तथा सहजीकरण स्वतन्त्र सहजकर्ता गोविन्दराज पौँडेलले गर्नुभएको हो।

कार्यक्रममा मन्तव्य दिनुहुँदै नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद न्यौपानेले युवावर्गलाई देशभित्रै रहेर समाज परिवर्तन र राष्ट्र निर्माण कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण त्यसको प्रभावकारी कार्यान्वयन र युवा लक्षित कार्यक्रमका साथै नेतृत्वतहमा युवा पुस्ताको सहभागीता गराउनुपर्ने बताउनुभयो। यस्तै, मिडिया एड्भोकेसी फोरम नेपालका महासचिव निरोज तोलाङेले युवालाई देश विकासको आधार तथा सुनौलो भविष्यका लागि ज्यादै महत्वका साथ लिने हुँदा राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा युवाहरुले गित, नाटक लगायतको मनोरञ्जनात्मक र सन्देशमुलक प्रस्तुति दिएका थिए।

संस्थाका उपाध्यक्ष आशिष् राईले अध्यक्षता गर्नुभएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वुद्धिजीवि तथा समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक परीक्षण सहजकर्ता र पत्रकार लगायतको उपस्थिति रहेको सो कार्यक्रमको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुशील भट्टले गर्नुभएको थियो। युवाहरुलाई जीवनउपयोगी सीपहरु प्रदान गर्नुका साथै उनीहरुको मनोबल बढाउने, स्वरोजगार बनाउन उत्प्रेरित गर्ने, विद्यालय वा समुदायमा रहेका जोखिममा परेका युवाहरुलाई मार्गनिर्देशन वा परामर्श प्रदान गर्ने, युवाहरुको अभिभावक अथवा आमाबुबाहरुलाई उनीहरुको किशोरकिशोरीबीच एक अर्कामा राम्रो व्यवहार गर्न सीप र समझ प्रदान गर्ने, संस्कृति, कला, नृत्य आदानप्रदान कार्यक्रमहरु र युवाहरुको नेतृत्व विकास कार्यक्रम संस्थाको मुख्य उदेश्य हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>