अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

काभ्रे। अटिजम, एडीएचडी, स्पेसिफिक लर्निङ डिसएबिलिटी लगायतका विकासात्मक अवस्थाबारे चेतनामूलक,शैक्षिक तथा थेराप्युटिक हस्तक्षेपमा केन्द्रित तीनदिने “अन्डरस्ट्यान्डिङ न्यूरोडाइभर्सिटी इन द क्लासरुम” शीर्षकको तीनदिने तालिम सफलतापूर्वक गत २५ गते सम्पन्न भएको छ ।
मेन्टल हेल्थ नेपाल, ललितपुर तथा नेपाल एकेडेमी अफ साइकोलोजी, ललितपुर द्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम दीपशिखा स्कूल, काभ्रे(प्रधानाध्यापक बद्री आचार्यको विशेष पहलमा आयोजना गरिएको हो । तालिममा पाँचखाल नगरपालिका अन्तर्गतका दीपशिखा इङ्ग्लिस स्कुल, ध्रुव तारा इङ्ग्लिस स्कुल, नव जनहित इङ्ग्लिस स्कुल, ह्याप्पी किड्स वर्ल्ड, श्री इन्द्रेणी विद्या मन्दिर, र पाँचखाल भ्याली सेकेन्डरी इङ्ग्लिस स्कुल गरी काभ्रेका ६ वटा प्रतिष्ठित विद्यालयको समर्थन एवं प्रयासमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो भने विद्यालयका ४० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
तालिममा अटिजम लगायत विशेष अवस्था भएका बालबालिकाको पहिचान, आवश्यक थेरापी, समावेशी कक्षाकोठामा विशेष शिक्षा, व्यक्तिगत शैक्षिक योजना, व्यवहार व्यवस्थापन योजना लगायतका विषयहरू समेटिएका थिए । साथै, विश्वभर बढ्दो चेतनामा आधारित विकासात्मक अवस्थालाई न्यूरोडाइभर्सिटीको दृष्टिकोणबाट कसरी हेर्ने भन्ने विषयमा पनि गहन छलफल गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्ष, विकसित देशहरूमा उपलब्ध सेवा तथा प्रणालीहरू, र त्यस्ता सेवा तथा कानुनी संरचनाहरूलाई नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा समेत सहभागीहरूबीच विस्तृत विमर्श भएको थियो ।
विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई अलग्गै राख्नुको सट्टा सामान्य शिक्षा प्रणालीभित्रै समावेश गरेर शिक्षण गर्नुपर्ने आवश्यकता र विधिबारे पनि तालिममा जोड दिइएको थियो । विकासात्मक अवस्था बाहेक विद्यार्थीहरूमा देखापर्ने अन्य विभिन्न मानसिक स्वास्थ्यसम्बन्धी समस्याको
पहिचान एवं सहायता तथा व्यवस्थापन विषयसमेत कार्यक्रममा समेटिएको थियो । कार्यक्रमले मनोविज्ञान, शिक्षा शास्त्र र नीति यी तीनै आयामबाट विषयवस्तुलाई समग्र रूपमा सम्बोधन गरेको थियो । तालिममार्फत अटिजम, एडीएचडी, विशिष्ट सिकाइ अपाङ्गता, बौद्धिक अपाङ्गता लगायत
विकासात्मक अवस्था भएका बालबालिकाको पहिचान, उपयुक्त हस्तक्षेप र सामाजिक स्वीकृति ९क्यअष्बिब्अअभउतबलअभ० को क्षेत्रमा व्यापक चेतना अभिवृद्धि हुने तथा शिक्षकहरूको सीप विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
तालिममा सञ्चार सीप, सामाजिक सीप, जीवनोपयोगी सीप, संज्ञानात्मक विकास, व्यावसायिक शिक्षा,ट्रान्जिसनिङ सेवा जस्ता विकासात्मक पक्षहरूलाई पनि एकीकृत रूपमा समावेश गरिएको थियो । साथै, विकासात्मक अवस्था भएका व्यक्तिहरूका लागि पहिचान, पुनर्वितरण, प्रतिनिधित्व र सम्मानपूर्ण जीवन सुनिश्चित गर्ने विषयहरूलाई पनि महत्वपूर्ण रूपमा उठान गरिएको थियो । विकासको उत्कर्षमा रहेको प्रविधिको भरपुर प्रयोग गर्दै अनलाइन प्लेटफर्मको माध्यमबाट उक्त कार्यक्रमलाई पूर्णता दिइएको थियो ।
कार्यक्रम रतालिमका प्रशिक्षक उमंग जंग पराक्रम शाह रहेका थिए । उनी बहुविषयक अनुसन्धानकर्ता हुन् भने मनोविज्ञान, शिक्षा र राजनीतिशास्त्र उनका प्रमुख अनुसन्धान क्षेत्र हुन् । हाल उनी नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशकका रूपमा कार्यरत छन् । यस किसिमका तालिम कार्यक्रमहरूले विशेष आवश्यकता भएका बालबालिकाको समावेशी र सम्मानपूर्ण भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।




