डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ प्रसारणमा

काठमाडौँ । बालबालिकालाई केन्द्रमा राखेर तयार पारिएको टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आज (शनिबार) बेलुकी ९ बजे देखि काष्ठमण्डप गोल्ड एचडी टेलिभिजनमा प्रसारण हुनेछ । यसलाई हाइलाइट नेपालको युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।
यो शो नेपालमा यसअघि देखाइएका परम्परागत रियालिटी शोभन्दा भिन्न शैलीमा निर्माण गरिएको छ जसमा देशभरबाट आएका ५० जना बाल नृत्य प्रतिभाहरू बीच प्रतिस्पर्धा हुनेछ । यो शोले नृत्यसँगै बाल प्रतिभाको व्यक्तित्व, सृजनशीलता, प्रस्तुति र स्टेज आत्मविश्वासलाई पनि प्राथमिकता दिएको छ ।
‘डान्स, ड्रीम, शाइन’ नाराका साथ प्रस्तुत गरिएको ‘लिटल डान्सिङ च्याम्प’ को पहिलो र दोस्रो एपिसोड ‘द च्याम्पियन्स राउन्ड’ मा केन्द्रित हुनेछ । यो शो आइतबार पनि प्रसारण हुनेछ। पहिलो चरणमा ५० जना बाल नृत्य प्रतिभाले एउटै मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्नेछन् । त्यसको मूल्यांकन केशव थापा, बबिता पोखरेल र सरोज प्रजाले निर्णायकको रूपमा गर्नेछन् ।
यो शो ह्वाइट फेदर्स इन्टरटेन्मेन्टद्वारा आयोजना गरिएको हो भने जिनो टेक इन्टरनेशनलले व्यवस्थापन गरेको छ । जिनो स्टुडियोज यसका स्टुडियो पार्टनर र पेप्सी यसको भोटिङ पार्टनरको रूपमा रहेका छन् । कार्यक्रमका निर्माता त्रिदेवी श्रेष्ठ हुन् भने निर्देशनको जिम्मा शानु खानले सम्हालेका छन् । सहायक निर्देशक प्रमित बख्रेल छन् भने व्यवस्थापनमा स्वीकृति ढकाल, मनिषा बिके, सुनिल महर्जन, आर्शु महर्जन, विनोद पोखरेल र सुन्दर हाकाजु संलग्न छन् ।
शोका निर्देशक शानु खानका अनुसार विजेताले तीन लाख नगद पुरस्कार र अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागीको अवसर पाउनेछन् ।




