
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले हालै काठमाडौंमा पानी पर्न थालेपछि स्थानीयहरू ढुक्कसँग बस्न नसक्ने अवस्था रहेको बताएकी छन् ।
काठमाडौं महानगर प्रहरी बलको आइतबार आयोजित ३४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले महानगरपालिकाले विपद् व्यवस्थापन तथा बाढी, डुबानको जोखिमलाई ध्यानमा राखेर नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिलाई तयारी अवस्थामा राखेको उल्लेख गरिन् । पहिले थोरै पानी परेपछि मानिसहरूले आनन्दले सुस्ताउन सक्ने डंगोलले स्पष्ट पारिन्, तर अहिले पानी परेपछि हामी सचेत रहनु पर्ने भएको छ । मध्यरातमा पनि विपद् परेकाले नगर प्रहरीको टोली, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू फिल्डमा सक्रिय रहनु पर्ने उनले बताइन् ।
उनको भनाइमा पहिले वर्षाको आवाजले शान्ति र आनन्द दिन्थ्यो, तर अहिले यसको असर फरक छ। वर्षासँगै काठमाडौंमा बाढी तथा डुबानको जोखिम बढिरहेको छ, यसैले दीर्घकालीन समाधान खोज्न अध्ययन चलिरहेको छ । डंगोलले तत्काल गर्न सकिने कामहरूबाट समाधानको थालनी गर्ने उद्देश्यले महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान अगाडि बढाउने योजना बनाएको जानकारी दिइन् ।
उनी अनुसार, यस अभियान अन्तर्गत वर्षाको पानी संकलन (रेन वाटर हार्भेस्टिङ) र जमिनमा पानी पुनर्भरण (रिचार्ज) गर्ने कामलाई प्राथमिकता दिइनेछ । समस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन्, “अहिले उपलब्ध स्रोतबाट नै सुरु गरौं भनेर ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गर्दैछौं,” उनी भनिन् ।




