राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा ‘ख्रीष्टियन’ लेख्न आब्हान

काठमाडौं, २७ कार्तिक । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समूदायका नागरिकलाई अपिल गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रिय जनगणना २०७८ सम्बन्धी बृहत्त सचेतना अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्दै महासंघले यस्तो भनेको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालका सम्पूर्ण ख्रीष्टियनहरुलाई यस जनगणनामा ख्रीष्टियन भनेर ५ नम्बरमा टिक लगाउन आग्रह अपिल गरेका छन् । उनले भने,‘यो जनगणनालाई सफल बनाउन ख्रीष्टियन समुदायलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यसलाई सफल पार्छौ तर, आस्था र धर्ममा यहाँ ठुलो चलखेल हुँदैछ । खबरदार यसो गरियो भने हामीलाई यो जनगणना स्विकार्य हँुदैन् । सबै धार्मीक समुदायको भावनालाई गणकले सम्मान गर्नुपर्छ । पेन्सिलको प्रयोग गर्नुहुँदैन् ।’ उनले अहिले कोही कोही व्यक्तिहरु हिन्दुको प्रतिशत ९० बनाउँछु भनेर लागेको पनि सुनाए । उनले भने,‘खबरदार कागजमा जुनसुकै बनाउनुहोस, हाम्रो धर्ममा कति मान्छे छन् भन्ने कुरा हामीलाई पनि थाहा छ । यदि त्यसो भयो भने हामीले आफैले गणना गर्छौं ।’ नेपाली ख्रीष्टियन समुदाय र चर्चका लिडरहरुलाई उनले यो जनगणनाको बेलामा टोलटोलमा पहरेदार भएर बस्न पनि अपिल गरेका छन् । उनले भने,‘यदि खीष्टियन लेखिएको ठाउँमा अन्य लेखियो भने राष्ट्रिय ख्रीष्टियन महासंघमा खबर गर्नुहोस । त्यसको लागि के गर्नुपर्छ हामी गर्नेछौं ।’
जनजाती महासघंका पूर्व महासचिव आङ्काजी शेर्पाले जबसम्म खुल्लामञ्चमा दशैंको फुलपातीमा हर्षबढाँई हुने, बाहुनले जनै फेर्दा तोप पड्काउने, हिन्दुको चाडबाडमा १५ दिन विदा दिने तर अरुको चाडबाडमा दिएको एक दिनको विदा पनि कटौति गरिन्छ तबसम्म हिन्दुको तथ्यांक घट्ने अनि मुस्लिम, ख्रिटियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवा सपना त्याग्न आग्रह गरेका छन् । उनले भने,‘यसको कारण के हो भने ८० हजार गणकमा १५ हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन् । बाँकी कमल थापा र ज्ञानेन्द्रको हन्डी खाने र भारतको योगी आदित्यनाथको हन्डी खाएर उनीहरुलाई प्रशिक्षण दिएर जसरी भएपनि हिन्दु लेख्नु भनेको छ ।’ अबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्यांक विभाग जलाउनुको विकल्प आफूहरुसँग नभएको उनको चेतावनी छ।
ईस्लाम सोसाईटीका अध्यक्ष नजुरेल हुसेनले केही ठाउँमा मान्छेको नाम मात्र लिएर अरु डाटा अफिसमा गएर भर्छु भनेर गणकहरुले लगेको भन्ने सुनिएको उल्लेख गदै आपत्ति जनाए । उनले भने,‘कसैले पेन्सिलले लेखेको भन्ने कुरा सुनिएको छ । यस्तो गर्नु गम्भिर गल्ती हो ।’ उनले अर्को धर्मलाई कम देखाएर आफुहरु ठुलो भनेर अरुलाई सधैं दबाउने अपराधिक मानसिकताबाट निस्किनुपर्ने पनि बताए । उनले भने,‘यस्तो मानसिकता गणकमा नहोस । यस्ता विकृति रोक्न आवश्यक रहेको छ । मानव–मानव बिचमा भेदविवाद रहनु एकदम गलत हो । यसलाई हटाउनुपर्छ । हामीले यो अभियान आफुबाट सुरु गरौं ।’
कार्यक्रममा बोल्दै जनसंख्या विज्ञ प्रा. डा. योगेन्द्र गुरुङले एक अध्ययन सुनाउँदै ख्रीष्टियनमा दलितहरु धेरै रहेको सुनाए । उनले भने,‘ख्रीष्टियनभित्र पनि जात व्यवस्था रहेको छ । बुद्धिजम, मुस्लिममा पनि ठुलो जात र सानो जात भन्ने धेरै नै छ । त्यसैले जबसम्म यो जात व्यावस्थाबाट हामी बाहिर निस्किन सक्दैनौं । यो जनगणनामा पनि त्यसको रिफ्लेक्सन् परेको छ जस्तो मलाई लाग्छ ।’ जनगणना क्रमशः प्रजातान्त्रीक र जनमुखी हुँदै आएको उनले सुनाए । उनले भने,‘१९९१ मा जनगणनामा पहिलोपटक जातजाति उल्लेख गरिएको थियो । यसपटक वडास्तरदेखि नै सञ्चालन गरेको हुँदा र गणकहरु पनि स्थानीस्तरकै भएको हुँदा यसपटकको जनगणना प्रभावकारी हुन्छ । त्यसैले तथ्यांकमा कुनै तलमाथि हुँदैन भन्ने परिकल्पना गरिएको छ ।
नयाँ संरचनामा पहिलो जनगणना भएको हुँदा यो जनगणनामा समावेशी रहेको छ । यस्तै पहिलोपटक गणनाको इतिहासमा संसारमै कतै नहुने सामूदायिक प्रश्नावली रहेको छ । जुन एउटा वडामा एउटा भरिन्छ यो नौलो विषय हो । यस्तै यसपटक तथ्यांकमा स्तरियता हुन्छ ।’




